नेपाल सरकारले मिति २०७३/११/२७ गतेको राजपत्रमा सूचना प्रकाशित गरि साविकको शिवसताक्षी नगरपालिका, पाँचगाछी गा.वि.स तथा धरमपुर गा.वि.स सम्मिलित गरी यस शिवसताक्षी नगरपालिका गठन गरेको हो । जम्मा ११ वटा वडामा विभाजन गरिएको यस नगरपालिकाको कुल क्षेत्रफल १४५.४८ वर्ग कि.मी. रहेको छ । २०७५ को घरधुरी सर्वेक्षण अनुसार यस नगरपालिकाको जनसंख्या ७४,३६६ रहेको छ । साविक धरमपुर गा.वि.स. हाल वडा नं. १, २ र ३ साविक पाँचगाछि गा.वि.स हाल वडा नं. ४ र ५ को रूपमा रहेको छ भने वडा नं. ६ र ७ ले साविक शिवगंज गा.वि.स तथा वडा नं. ८, ९, १० र ११ ले साविक सतासीधाम गा.वि.स.लाई समेटेको छ। यस नगरपालिकाको पूर्वमा कन्काइ नगरपालिका, उत्तरमा इलाम जिल्ला, पश्चिममा कमल गाउँपालिका र दक्षिणमा झापा गाउँपालिका र गौरीगंज गाउँपालिका रहेका छन् ।
सताक्षीधाम धार्मिक क्षेत्र, दोमुखा पर्यटकिय क्षेत्र, चिल्लागढ ऐतिहासिक साँस्कृतिक क्षेत्र लगायत विभिन्न मठ मन्दिर, गुम्बा तथा खोलानाला, नहर, कुलो, पोखरी, सिमसार क्षेत्र तथा हरिया वनहरूले यस नगरपालिकालाई शान्त, आकर्षक र रमणिय बनाएका छन् ।अन्य नगरपालिकाहरूको तुलनामा विकासका पूर्वाधारहरू कम भएता पनि अत्याधिक सम्भावना बोकेको क्षेत्रको रूपमा यस नगरलाई लिईन्छ । नगरपालिकाको केन्द्र वडा नं. ७ स्थित ब्याङ्गडाँडामा रहेको छ । नगरपालिकाको प्रमुखमा वडा नं. ९ निवासी श्री मेगाहाङ्ग थोप्रा (रोशन) तथा उप-प्रमुखमा वडा नं. ७ निवासी श्री नरमाया कार्की निर्वाचित हुनुभएको छ । जनप्रतिनिधिहरू निर्वाचित भै आएपश्चात नगर कार्यपालिकाले नगर कार्यपालिका कार्यविभाजन नियमावली, कार्यसम्पादन नियमावली लगायतका विभिन्न नियमावली र कार्यविधिहरू स्वीकृत गरी त्यसैका आधारमा नगर कार्यपालिकाका दैनिक प्रशासनिक तथा विकासात्मक कार्यहरू संचालित छन् ।